हाम्रो बारेमा

विद्यालय परिचय - श्री सरस्वती मा.वि.

विद्यालय परिचय

School Building

श्री सरस्वती माध्यमिक विद्यालय मावादिन मादी नगरपालिका ८ साविक मावादिन गाविस ४ मा वि.स. २०१७ सालमा स्थापना भएको पहिलो विद्यालय हो । कोशी प्रदेशको सुदुर उत्तरी संखुवा सभा जिल्लाको दक्षिण पूर्वको मादी नगरपालिका वडा नं. ८ (साविक मावादिन गा.वि.स.वडा नंं. ४) मा २७.२८७५५ डिग्री उत्तरी अक्षांश तथा ८७.४१६६५ डिग्री पूर्व देशान्तरमा समुन्द्र सतहबाट १७२३ मिटरको उचाईमा अवस्थित यस विद्यालयले समय समयमा आफ्नो स्तरोन्नती गर्दै माध्यमिक तहसम्मको शिक्षा दिन सक्षम भएको देखिन्छ । ब्रिटिस वेलफेयर संस्थाको सहयोगमा पक्कि भवनको निर्माण भएको छ भने अन्य तीनवटा ब्लक शौचालय र धारा निर्माण गरिएको छ । उत्तरतर्फ फर्किएर रहेकाे यस विद्यालयको सेवा क्षेत्रमा आदिबासी जनजाती राई, लिम्वु, तामाङ्ग, गुरुङ्ग, शेर्पाको बसोबास रहेको छ ।

यो विद्यालयको स्थापना २०१७ साल पुष ८ गते भएको हो । प्राथमिक तह स्वीकृत वि.सं. २०२२/८/२७, नि.मा. तह स्वीकृत वि.सं. २०४० मा र मा. तह अनुमति कक्षा ९ को वि.सं. २०५४ र कक्षा १० को सञ्चालन अनुमति वि.सं. २०५६ सालमा प्राप्त भई एस. एल.सी. परीक्षामा वि.सं. २०५७ सालदेखी सामेल भएको छ । यो विद्यालयले सेवा क्षेत्र भित्रका बालबालिकाहरुलाई शिक्षा प्रदान गरिरहेको छ ।

वि.स.२००७ सालको राजनैतिक परिवर्तन पश्चात् देशव्यापी रुपमा फैलिएको शैक्षिक जनलहरसँगै वि.सं. २०१५ सालमा सोही गाउँका गजराम लिंथेपको सक्रियतामा गोठकटेरो निर्माण गरी मादी विर्ता ३ का ढुण्डीराज दाहाल मासिक रु ३० तलव भत्ता पाउने गरी शिक्षक नियुक्ति गरी विद्यालय सञ्चालन गरिएको इतिहास छ । एक वर्ष पछि हाल विद्यालय रहेको ठाँउमा विद्यालय सारियो । विधिवत रुपमा वि.सं. २०१७ साल पुष ८ गते विद्यालय स्थापना भएको देखिन्छ । वि.सं. २०२८ सालमा नयाँ शिक्षा ऐन लागु भएपछि सोही स्थानमा ४ कोठे भवनको निर्माण भएको थियो । लाल बहादुर देवानको प्रायोजकत्वमा बृटिस क्याम्प धरानबाट आर्थिक सहयोग प्राप्त भई चित्राको छाना हटाई इटाको छाना लगाइयो । उक्त विद्यालय वि.सं. २०२२ साल मंसिर २७ गते श्री ५ को सरकार शिक्षा विभाग प्राथमिक शिक्षा शाखाबाट श्री सरस्वती प्राथमिक विद्यालय मावादिन मैंवाखोला नामले स्वीकृत प्राप्त गर्यो । वि.सं. २०३१ सालमा रा.शि.प.यो. लागू भएपछि वि.सं. २०३१ फागुन ६ गते कक्षा १–३ को अनुमति प्राप्त भयो । वि.सं. २०३८ सालमा नि.मा. तहका कक्षाहरु थप गरी वि.सं. २०४० सालमा नि.मा. तहका सम्पूर्ण कक्षाहरु स्वीकृत भए । यो कार्यका लागि यस विद्यालयका पूर्व शिक्षक दिलबहादुर गरुङ्ग र मादी मूलखर्क निबासी मानबहादुर मजियाको महत्वपूर्ण भूमिका रहेको थियो । नि.मा. तह निशुल्क बनाउन रु ६०,००० भन्दा बढी संकलन गरी बैंक व्यालेन्स र ऋण लगानी गरी प्राप्त व्याज रकमले निःशुल्क पठनपाठनसमेत भएको थियो । वि.सं. २०५५ साल पौष १ गतेदेखी कक्षा ८ को पठनपाठन समेत भएको थियो । माध्यमिक तहको अनुमतिका लागि शि. गोपाल प्रसाद प्याकुरेल र हर्ककुमार राईको उल्लेखनीय भूमिका रहेको छ । यो विद्यालयले वि.सं. २०५४ सालमा कक्षा ९ र वि.सं. २०५६ सालमा कक्षा १० सञ्चालन अनुमति प्राप्त गरी निजिस्रोतबाट मा. तह सञ्चालन गरी वि.सं. २०५७ सालदेखि विद्यार्थीलाई एस.एल.सि. परीक्षामा सामेल गराई हालसम्म माध्यमिक तहसम्मको शिक्षा प्रदान गरिरहेको छ ।


School Building

विद्यालयको पूरानो भवन

सुरुमा सेउले छाप्रोमा पठनपाठन गर्दै चारकोठे भवन निर्माण गरी विद्यालय सञ्चालन भएको थियो । विद्यालयको स्तरोन्नति हुदै जादा मुलभवन भएको स्थानमा आठकोठे कच्ची भवनको निर्माण गरिएको थियो । २०६० (सन २००४) तिर व्रिटिश वेलफेयर संस्थाले आठकोठे पक्की भवन निर्माण गरी हाल यसै भवनका अतिरिक्त ब्लकहरुमा विद्यालय सञ्चालन भइरहेको छ । विद्यालयलाई भवन निर्माण र खेल मैदानका लागि आवस्यक जमिन उपलब्ध गराउनु हुने स्व. मकर बहादुर लिंथेप, वहाँका छोराहरु स्व. मोहनसिं लिंथेप, स्व. छत्र बहादुर लिंथेप र स्व. हस्त बहादुर लिंथेपलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै साथै वहाँका नातिहरु स्व. टेक बहादुर लिंथेप, श्री वल बहादुर लिंथेप, श्री विजय लिंथेप, स्व. वीर बहादुर लिंथेप, श्री चन्द्रमान लिंथेप, श्री कमल लिंथेप र स्व. गणेश लिंथेप, श्री सन्त बहादुर तामाङ , श्री दोर्जे तामाङ (कृष्ण लामा ) इन्द्रा लिंथेप प्रति विद्यालय परिवार हार्दिक कृतज्ञता ज्ञापन गर्दछ । विद्यालयलाई जग्गा रजिष्ट्रेशनको व्यवस्था गर्ने काम मा.न.पा. ८ निवासी जानुका लिङ्थेप, ठाकुरसिं लिङ्थेप तथा मानवहादुर जिमीले गर्नु भएको थियो । विगत समयमा चन्दा सङ्कलन गरी सो को व्याजबाट शिक्षक त.भ. व्यवस्था गर्ने र तहगत शिक्षक दरवन्दीको व्यवस्थाका लागि कार्य गर्नुभएका मा.न.पा.८ निवासी श्री दिलकुमार गुरुङ धन्यवादका पात्र हुनुहुन्छ । विद्यालयमा व्रिटिश गोर्खा वेल्फेयर संस्था ल्याई रु. ३५ लाख ४४ हजार लागतमा आठकोठे भवन निर्माण गर्न पहल गर्नुहुने श्री तुलाराम लिङ्थेप, श्री गणेश लिंथेप, स्पोन्सरहरु स्व. श्री दिल बहादुर देवान, स्व. श्री दिलबहादुर राई तथा व्रिटिस गोर्खा वेल्फेयर संस्थालाई नसम्झिरहन सकिदैन । त्यसैगरी उक्त कार्यको समग्र कागजी एवं भौतिक व्यवस्थापनमा योगदान पुर्‍याउनुहुने तत्कालीन प्र.अ. श्री हर्ककुमार राई तथा पूर्व प्र.अ. श्री दिलकुमार गुरुङ ज्यू प्रति पनि विद्यालय हार्दिक कृतज्ञता व्यक्त गर्दछ । विद्यालय सदैव यो कार्यको प्रशंसा गरिरहने छ ।


School Building

गोर्खा वेलफेयरद्वारा निर्मित भवन

विद्यालयको चारकोठे कार्यालय कक्ष रहेको पक्की भवन आ.व. ०७७/७८ मा जिल्ला आयोजना कार्यान्वयन इकाइ, खाँदबारीबाट रु. ८४ लाख ५९ हजार ३४५ रकम विनियोजित भई निर्माण सम्पन्न भएको थियो । उक्त कार्यमा सहयोग पुर्‍याउनुहुने तत्कालीन वि.व्य.स. पदाधिकारीहरु, शि.अ.संघ पदाधिकारीहरु, तत्कालीन विद्यालय प्रशासन लगायत सहयोगी सम्पूर्ण महानुभावहरुमा विद्यालय विशेष धन्यवाद व्यक्त गर्दछ ।

School Building

जि.आ.का.इ. द्वारा विनियोजित बजेटबाट निर्मित RCC भवन / आ.व. २०७७/७८

शिक्षाप्रेमी महानुभावहरुले शिक्षाको विकासका लागि अक्षयकोष स्थापना गर्ने काम गर्नु भएको छ वहाँहरुको योगदानको कदर गर्नु विद्यालयको कर्तव्य हो । आफ्नो अदम्य साहास प्रदर्शन गर्दै रणबहादुर/फिपरानी स्मृति अक्षय कोष, रत्न लिला स्मृति अक्षयकोष, मावादिन हङकङ समाज अक्षय कोष, मिठु स्मृति अक्षयकोष, चन्द्रवीर जसमाया शिक्षक पुरस्कार अक्षयकोष ,स्व.सूर्यप्रसाद रोहिणीदेवी स्मृति छात्रवृत्ति अक्षयकोष, धनेन्द्र छात्रवृत्ति अक्षयकोष, विद्यालय विकास अक्षयकोष, विष्णु गौतम स्मृति छात्रवृत्ति अक्षयकोष, स्व. भक्तबहादुर/सावित्रादेवी खड्का स्मृति छात्रवृत्ति अक्षयकोष, स्व. कर्णबहादुर/विष्णुमाया स्मृति अक्षयकोष र स्व. टेकबहादुर गुरुङ स्मृति अक्षयकोष स्थापना गर्नुहुने दानवीर महानुभावहरुलाई विद्यालय परिवार विशेष धन्यवाद व्यक्त गर्दछ ।


School Building

वेवसाइट निर्माण तथा उद्घाटन

आधुनिक सञ्चार प्रणालीलाई आत्मसात गर्दै विद्यालयको विभिन्न दस्तावेजहरु अनलाईनमा व्यवस्थित गर्ने उद्देश्य राखि वि.सं २०८० भाद्र २५ को वि.व्य.स. निर्णय बमोजिम विद्यालयको आधिकारिक फेसवुक (SaraswatiSchoolOfficial) तथा www.schoolsaraswati.edu.np ठेगाना भएको वेवसाइट निर्माण तय भयो । वेवसाइटको डिजाइन एवं डेभेलप गर्न जिम्मेवारी प्राप्त गरी महत्वपूर्ण एवं अग्रणी भूमिका निर्वाह गर्नुहुने विद्यालयका तत्कालीन शिक्षक श्री टेकेन्द्र खड्कालाई विद्यालय हार्दिक धन्यवाद व्यक्त गर्दै उक्त कार्यको उच्च मूल्याङ्कन गर्दै विद्यालयको इतिहासमा अविस्मरणीय व्यक्तिको रुपमा लिन चाहान्छौं । साथै, उक्त वेवसाइटमा आवश्यक पर्ने विद्यालयका ऐतिहासिक दस्तावेज, तथ्य एवं तथ्याङ्कहरु संकलन एवं व्यवस्थित गर्ने कार्यमा योगदान पुर्‍याउनुहुने तत्कालीन प्र.अ. श्री हर्ककुमार राई, तत्कालीन सहायक प्र.अ. श्री पदमबहादुर मेघी, तत्कालीन विद्यालय सहायक तथा शिक्षक श्री राजकुमार गुरुङ एवं विद्यालयका सम्पूर्ण शिक्षक कर्मचारी र निर्णायक भूमिकामा रहनुहुने तत्कालीन वि.व्य.स. अध्यक्ष श्री नारायण प्रसाद गुरुङ तथा पदाधिकारीहरु, मादी न.पा. वडा नं. ८ का तत्कालीन वडाध्यक्ष तथा वि.व्य.स सदस्य श्री सुनील लिंथेप, तत्कालीन शि.अ.संघ अध्यक्ष श्री जीतबहादुर कली गुरुङ लगायत पदाधिकारीहरु प्रति विद्यालय परिवार हार्दिक कृतज्ञता व्यक्त गर्दछ । उक्त वेवसाइटलाई निर्माण सम्पन्न गरी मिति २०८० असोज २५ गते औपचारिक उद्घाटन गरिएको थियो र हाल विद्यालयका महत्वपूर्ण दस्तावेजहरु, सूचनाहरु तथा विद्यार्थीको परीक्षाका नतिजाहरुलाई वेवसाइटमा व्यवस्थित गरिदैँ आएको छ ।


School Building

शिलालेख अनावरण कार्यक्रम २०८२/०८/०८ गते
बायाँबाट क्रमशः देवेन्द्र, पदम, दिक्पाल, घनश्याम, सन्तुबहादुर, मातृका, जीवन, सुनिल, हर्क, जीतबहादुर, चतुरसिं, पासाङ, इन्द्रप्रसाद, नारायणप्रसाद, धनेन्द्र

विद्यालयको ६५ ‌औं वार्षिकोत्सव समारोह तथा अभिभावक दिवस २०८१ को अवसरमा समुद्घाटित शिलालेख महाअभियान २०८१ पूर्ण रुपमा सफल भई विभिन्न दाताहरुबाट ऐतिहासिक रुपमा सर्वाधिक रु. १५,७७,९८९.६६ (अक्षेरुपी पन्ध्र लाख सतहत्तर हजार नौ शय उनान्नब्बे रुपैंया छेसठ्ठी पैसा मात्र) रकम संकलन भई स्थापनाकालदेखिका जग्गादाता, वि.व्य.स. अध्यक्ष, शि.अ.संघ अध्यक्ष, प्रधानाध्यापक, सहायक प्रधानाध्यापक, अक्षयकोषदाता, अति विशिष्ट मानार्थ संरक्षक सदस्य, विशिष्ट मानार्थ संरक्षक सदस्य, मानार्थ संरक्षक सदस्य, संरक्षक सदस्य, विद्यालयको सेवाक्षेत्रभन्दा बाहिर रहेर पनि विद्यालयलाई आर्थिक सहयोग प्रदान गर्नुहुने शुभेच्छुक आजीवन सदस्यहरु, विद्यालय सेवाक्षेत्रभित्रका टोल अनुसारका आजीवन सदस्य दातामहानुभावहरुको रकमसहितको विवरण समेटेर शिलालेख तयार गर्ने कार्य सम्पन्न भएको छ । उक्त शिलालेखलाई विद्यालयको RCC भवनमा टाँस गरि विद्यालयको ६६ औं वार्षिकोत्सव समारोह तथा अभिभावक दिवसको शुभअवसरमा मिति २०८२ माघ ७ गते मादी नगरपालिका नगरप्रमुख श्री जीवन लिंथेप ज्यूको करकमलबाट अनावरण गर्ने कार्य गरी सम्पूर्ण शिलालेखमा नामावली समाविष्ट भएका दातामहानुभावहरुलाई सम्मानपत्र समेत प्रदान गरिएको छ । उक्त शिलालेख महाअभियानलाई सफलिभूत बनाउन विशेष योगदान पुर्‍याउनुहुने सम्पूर्ण दातामहानुभावहरु, तत्कालीन वि.व्य.स. अध्यक्ष श्री नारायणप्रसाद गुरुङ, तत्कालीन निवर्तमान प्र.अ. श्री हर्ककुमार राई, तत्कालीन प्र.अ. श्री देवेन्द्र गुरुङ, तत्कालीन शि.अ.संघ अध्यक्ष श्री दिक्पाल तामाङ, शिक्षक श्री पदमबहादुर मेघी, शिक्षक श्री टेकेन्द्र खड्का, शिक्षक श्री राजकुमार गुरुङ लगायत विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षक कर्मचारी, वि.व्य.स. तथा शि.अ.संघ पदाधिकारीहरु तथा शिलालेखमा प्राविधिक सहयोग पुर्‍याउने भाञ्जा हस्तकला इटहरी प्रति विद्यालय परिवार हार्दिक आभार व्यक्त गर्दछ ।

क्र.सं. प्र.अ.को नामथर ठेगाना नियुक्ति (देखि-सम्म)
श्री ढुण्डीराज दाहाल मादी न.पा. ५
श्री धनबहादुर लिम्बु चैनपुर–४
श्री चेतनाथ गौतम ताप्लेजुङ
स्व. टंकप्रसाद पोख्रेल मादी न.पा. ५
श्री लक्ष्मीप्रसाद पोख्रेल मादी न.पा. ५
श्री दिलकुमार गुरुङ्ग मादी न.पा. ८ वि.सं. २०२३-२०२४
श्री युवकुमार लिंथेप मादी न.पा. ७ वि.सं. २०२४- २०२५
श्री दिलकुमार गुरुङ्ग मादी न.पा. ८ वि.सं.२०२५-२०२६/१२/३०
श्री युवकुमार लिंथेप मादी न.पा. ७ वि.सं.२०२७/०१/०१- २०२९/०८/३०
१० श्री दिलकुमार गुरुङ्ग मादी न.पा. ८ वि.सं.२०२९/०९/०१- २०३९/११/३०
११ श्री दिनेश श्रेष्ठ चैनपुर वि.सं.२०३९/१२/०१- २०४०/०९/१७
१२ श्री पवित्रराज कोइराला मादी न.पा. ४ वि.सं. २०४०/०९/१८-२०४६/११/२९
१३ श्री धनप्रसाद प्याकुरेल मादी न.पा. ४ वि.सं. २०४६/१२/०८- २०५१/०७/१५
१४ श्री गोपाल प्रसाद प्याकुरेल मादी न.पा. ४ वि.सं. २०५१/०७/१६- २०५४/०५/२९
१५ श्री लक्ष्मीप्रसाद सुवेदी मादी न.पा. ५ वि.सं. २०५४/०५/३०- २०५७/०६/०१
१६ श्री हर्क कुमार राई मादी न.पा. ८ वि.सं. २०५७/०६/०२- २०६१/०६/०६
१७ श्री गोपाल प्रसाद प्याकुरेल मादी न.पा. ४ वि.सं. २०६१/०६/०७- २०७१/०८/२३
१८ श्री मातृका प्रसाद दाहाल मादी न.पा. ५ वि.सं. २०७१/०८/२४- २०७७/१०/१९
१९ श्री हर्क कुमार राई मादी न.पा. ८ वि.सं. २०७७/१०/२०- २०८२/०६/०२
२० श्री देवेन्द्र गुरूङ मादी न.पा. ८ वि.सं. २०८२/०८/२८- हालसम्म

प्राप्त अभिलेखका आधारमा निम्न व्यक्तिहरुले यस विद्यालयको सहायक प्र.अ. कार्यभार सम्हाल्नु भएको छ

क्र.सं. नामथर ठेगाना नियुक्ति (देखि-सम्म)
१. श्री हर्क कुमार राई मादी न.पा. ८ वि.सं. २०७१/०८/२४- २०७७/१०/११
२. श्री पदमबहादुर मेघी मादी न.पा. ८ वि.सं. २०७७/१०/२०- २०८१/०९/१८
श्री देवेन्द्र गुरूङ मादी न.पा. ८ वि.सं. २०८२/०९/१९- २०८२/०८/२७
श्री धनेन्द्र भट्टराई सुन्दरहरैचा न.पा. १२ वि.सं. २०८२/०९/१३- हालसम्म

प्राप्त अभिलेखका आधारमा निम्न व्यक्तिहरुले यस विद्यालयकोे अध्यक्षको कार्यभार सम्हाल्नु भएको छ

क्र.सं. नामथर ठेगाना नियुक्ति (देखि-सम्म)
स्व. गजराम लिंथेप मादी न.पा. ८
स्व. ठाकुरसिं लिंथेप मादी न.पा. ८
स्व. नलनारायण लिंथेप मादी न.पा. ७
स्व.पूर्ण बहादुर लिंथेप मादी न.पा. ८
स्व. जीत बहादुर लिंथेप मादी न.पा. ८
स्व.जयनारायण लिंथेप मादी न.पा. ७
श्री बीरबहादुर लिंथेप मादी न.पा. ८ वि.स. २०३७–२०३८
स्व.हस्त बहादुर लिंथेप मादी न.पा. ८ वि.स.२०३९–२०४१/०३/०१
स्व.अमृतबहादुर लिंथेप मादी न.पा. ८ वि.सं. २०४१/०५/१९-२०४४/०२/१३
१० स्व.राममचन्द्र लिंथेप मादी न.पा. ८ वि.सं.२०४४/०५/१६-२०४८/१२/१२
११ श्री तुलाराम लिंथेप मादी न.पा. ८ वि.सं. २०४९/०१/१६-२०५९/०२/२९
१२ श्री नरबहादुर लिंथेप मादी न.पा. ८ वि.सं. २०५९/०४/१७- २०६१/०६/०५
१३ श्री दिलकुमार गुरुङ्ग मादी न.पा. ८ वि.सं. २०६१/०८/०३- २०६३/१०/१०
१४ श्री मेहरमान लिंथेप मादी न.पा. ८ वि.सं.२०६३/१०/१३- २०६६/१०/१२
१५ श्री दिलकुमार गुरुङ्ग मादी न.पा. ८ वि.सं. २०६६/१२/०६- २०६९/१२/०५
१६ श्री आनन्दराज गुरुङ्ग मादी न.पा. ८ वि.सं. २०६९/१२/१२- २०७२/१२/११
१७ श्री भिम लिंथेप मादी न.पा. ८ वि.सं. २०७३/०१/२९- २०७३/०३/१४
१८ श्री साावित्रा लिंथेप मादी न.पा. ८ वि.सं. २०७३/०७/०५- २०७६/०७/०४
१९ श्री नारायण प्रसाद गुरुङ्ग मादी न.पा. ८ वि.सं. २०७६/०८/०४ - २०७९/८/०३
२० श्री नारायण प्रसाद गुरुङ्ग मादी न.पा. ८ वि.सं. २०७९/१०/२९ - हालसम्म

शिक्षा ऐन २०२८ सातौं संशोधनले व्यवस्था गरे बमोजिम वि.व्य.स.द्वारा गठन गरिने शिक्षक अभिभावक संघको हालसम्मका अध्यक्षको नामवली यसप्रकार रहेको छ ।

क्र.सं. नामथर ठेगाना नियुक्ति (देखि-सम्म) कैफियत
श्री जितबहादुर गुरुङ्ग मादी न.पा. ८ वि‍.सं. २०५९-९-२९ देखि २०६१-०९-२८ सम्म
श्री जितबहादुर गुरुङ्ग मादी न.पा. ८ वि‍.सं. २०६१-१०-२ देखि २०६३-१०-१ सम्म
श्री जितबहादुर गुरुङ्ग मादी न.पा. ८ वि‍.सं. २०६३-१०-१३ देखि २०६५-१०-१२ सम्म
श्री जितबहादुर गुरुङ्ग मादी न.पा. ८ वि‍.सं. २०६६-१-१० देखि २०६८-१-०९ सम्म
श्री जितबहादुर गुरुङ्ग मादी न.पा. ८ वि‍.सं. २०६८-४-३१ देखि २०७०-०४-३० सम्म
श्री जितबहादुर गुरुङ्ग मादी न.पा. ८ वि‍.सं. २०७१-१-२९ देखि २०७३-०१-२८ सम्म
श्री जितबहादुर गुरुङ्ग मादी न.पा. ८ वि‍.सं. २०७३-८-१० देखि २०७५-०८-०९ सम्म
श्री जितबहादुर गुरुङ्ग मादी न.पा. ८ वि‍.सं. २०७६-१-२९ देखि २०७८-०१-२८ सम्म
श्री जितबहादुर गुरुङ्ग मादी न.पा. ८ वि‍.सं. २०७८-६-२ देखि २०८०-०६-१ सम्म
१० श्री दिक्पाल तामाङ्ग मादी न.पा. ८ वि‍.सं. २०८०-०८-१३ देखि हालसम्म
विद्यालयको भौगोलिक अवस्था

कोशी प्रदेशकाे सुदुर उत्तरी जिल्लाको दक्षिण पूर्वको मादी नगरपालिका वडा नं ८ मा २७.२८७५५ं डिग्री उत्तरी अक्षांश तथा ८७.४१६३५ं डिग्री पूर्वी देशान्तरमा समुद्र सतहबाट १७२३ मिटरको उचाईमा उत्तरतर्फ फर्किएको मोडदार पहाडको बीचमा यो सरस्वती माध्यमिक विद्यालय रहेको छ । यो विद्यालयबाट रमणीय हिमचुलीको गुफापोखरी, मिल्के, हर्कटे जलजले, ढुड खर्क, भुवान डाँडा जस्ता लेकाली लालीगुँराको राजधानीको समेत मनोरम दृष्य अवलोकन गर्न सकिन्छ । विद्यालय रहेको स्थान मादी न.पा. ८ को पूर्वमा सिकुवा खोला, पश्चिममा लंखुवा खोला उत्तरमा पिलुवा खोला र दक्षिणमा भुवान डाँडाको बीचमा रहेको छ । भिरपाखा, खोलानाला, वनजंगल, बस्ती, खेतीका फाँट र अलैंची बगानका साथै राम्बेनी ओखरबोटे मावादिन ग्रामिण सडक पनि रहेको छ ।


विद्यालयको जग्गा विवरण

यस श्री सरस्वती माध्यमिक विद्यालयको नाममा भएको जग्गाजमिनमा अलैंची खेती, भवन एवं शौचालय, खेलमैदान तथा पर्तिबाँझो अवस्थामा रहेको छ जसको विवरण निम्नानुसार रहेको छ ।

क्र.सं. जग्गादाताको नामथर ठेगाना कित्ता नं. क्षेत्रफल कैफियत
श्री रामचन्द्र लिंथेप मादी न.पा. ८ ६८८ १२७५० व.मि. अलैंची वगान
श्री सन्त बहादुर तामाङ ७९९ १०० व.मि. शौचालय
श्री मकर बहादुर लिंथेप ८०४ ४०० व.मि. खेल मैदान
श्री मकर बहादुर लिंथेप ८०७ २०९० व.मि. भवन
श्री कृष्ण लामा ९०० १४०० व.मि. वृक्षरोपण (सल्ला)
श्री कृष्ण लामा ९०४ २९४५ व.मि. बाँझो/ पर्ति
श्री सावित्रा लिंथेप व.मि. बाँझो
जम्मा १९,६८५ व.मि.

यो विद्यालय रहेको समुदाय आदिबासी जनजातीहरुको बाहुल्यता रहेको छ । विशेषगरी राई, लिम्बू, तामाङ्ग, गुरुङ्ग, शेर्पा बसोबास गर्छन भने नगन्यमात्र क्षेत्रीहरु बसोबास गर्दछन । घरधुरी सर्वेक्षण अनुसार ९९ प्रतिशत् जनजाती जनसंख्या रहेको छ । यस समुदायमा किराँत, बाैद्ध, इसाई र हिन्दु धर्म मान्ने गरिन्छ । यस विद्यालयको सेवा क्षेत्र भित्र करिब २७० घरधुरी रहेको छ । जसलाई तालिकामा प्रस्तुत गरिएको छः


सेवा क्षेत्रभित्रको घरधुरी
क्र.सं. जातजाति पेशा धर्म घरधुरी करिब मातृभाषा
लिम्बू खेती/नाेकरी किराँत १११ लिम्बू
राई खेती/नाेकरी किराँत ३० राई
गुरुङ्ग खेती/नाेकरी बौद्ध २० नेपाली
तामाङ्ग खेती/नाेकरी बौद्ध ५६ तामाङ्ग
शेर्पा खेती/नाेकरी बौद्ध शेर्पा
क्षेत्री खेती/नाेकरी हिन्दु नेपाली
विविध खेती/नाेकरी इसाई ५० विविध
जम्मा २७०
छिमेकी विद्यालयहरु

यो विद्यालय साविक मावादिन गाविसको सबभन्दा पहिलो माध्यमिक विद्यालय हो । यस विद्यालयका छिमेकी विद्यालयहरु ६ वटा रहेका छन् । जसलाई निम्नानुसार प्रस्तुत गरिएको छः

क्र.सं. विद्यालयको नाम किसिम अन्दाजि दुरी दिशा
श्री सिंहदेवी आ.वि. देवीटार सामुदाायिक ४ कि.मि. दक्षिण पश्चिम
श्री जनता मा.वि. बाघा सामुदाायिक ५ कि.मि. पश्चिम
श्री हाङ्थाना मा.वि. फाविङ् सामुदाायिक ८ कि.मि. पूर्व
श्री खम्पुजुङ्ग आ.वि. फाविङ् सामुदाायिक ७ कि.मि. पूर्व
श्री लिंगेशरी आ.वि. फाविङ् सामुदाायिक ७ कि.मि. उत्तर पूर्व
श्री भगवती मा.वि.चित्लाङ्ग सामुदाायिक ९ कि.मि. उत्तर

विद्यालयको सेवा क्षेत्र

यो विद्यालयको सेवा क्षेत्र भन्नाले यस विद्यालयमा अत्यधिक मात्रामा अध्ययन गर्न आउने बालबालिकाहरु बसोबास गर्ने संखुवा–सभा जिल्ला मादी नगरपालिका वडा नं. ८ मावादिन (साविक मावादिन गा.वि.स. वडा नं. ४ र ५) र वडा नं.७ केही भाग सेवा क्षेत्रको रूपमा रहेको छ । यो विद्यालयकोे सेवा क्षेत्रलाई निम्न नक्सा मार्फत पनि देखाइएको छः