हाम्रा बिशेषताहरु

भौतिक संरचना तथा वातावरण

मादी नगरपालिकाको वडा नं. ८, मावादिनको मध्यभागमा सुन्दर, स्वच्छ र मनोरम वातावरणमा विद्यालय अवस्थित रहेको छ । विद्यालयमा अफिस तथा कम्प्यूटर ल्याबसहित कक्षा १ र २ सञ्चालनको निमित्त ४ कोठे पक्की भवन रहेको छ । जसमा दुईवटा पक्की छात्रा शौचालयको व्यवस्था रहेको छ । श्री गोर्खा वेल् फेयरबाट निर्मित ८ कोठे पक्की भवनमा कक्षा ३ बाट १० सम्म पठनपाठन हुँदै आएको छ । उपयुक्त मापदण्ड सहितका कक्षाकोठा तथा श्री सामाजिक विकास मन्त्रालय, कोशी प्रदेशबाट प्राप्त रु. ५ लाख सहयोगबाट उच्चस्तरीय डेस्कबेन्च तथा पोडियमको व्यवस्था रहेको छ । त्यस्तै श्री जि.आ.का.इ, खाँदबारीबाट प्राप्त सहयोगबाट निर्मित २ कोठे पक्की भवनमा बालकक्षा, विज्ञान प्रयोगशाला तथा पुस्तकालयको व्यवस्था रहेको छ । त्यसैगरी वैदेशिक राेजगारीको सिलसिलामा रहनुभएकाे श्री प्रसाद सिं लिंथेप ज्यूबाट कार्यालयको लागि एक थान राउन्ड टेबल तथा १२ थान कुर्सी प्राप्त भएको छ । 

विद्यालयको ४ कोठे पक्की भवन साथमा श्री जि.आ.का.इ, खाँदबारीबाट प्राप्त सहयोगबाट निर्मित भवन


श्री ब्रिटिस गोर्खा वेलफेयरद्वारा निर्मित भवन


उच्च गुणस्तरीय फर्निचर तथा पोर्डियम

सदन विभाजन 

विद्यालयमा विभिन्न शैक्षिक गतिविधिहरुमा विद्यार्थीको सकृय सहभागिता बढाउनको लागि जम्मा ६ वटा सदनमा विभाजन गरि नियमित रुपमा विभिन्न शैक्षिक तथा अतिरिक्त क्रियाकलापहरु सञ्चालन हुँदै आएका छन् । जसमा विहानी प्रार्थनाको समयमा प्रत्येक सदनले पालैपालो हरेक दिन प्रार्थना सञ्चालन, प्रार्थनामा हाजिरीजवाफका प्रश्न निर्माण तथा अन्य सदनहरुलाई सोध्ने तथा दैनिक विद्यालय प्रतिवेदन बनाउने र त्यस दिनको अन्त्यमा छुट्ने बेलाको प्रार्थना समयमा दिनभरीको प्रतिवेदन प्रस्तुत गर्ने लगायतका क्रियाकलापहरुको सञ्चालन गर्दै आएको छ । विद्यालयले साप्ताहिक रुपमा हरेक शुक्रबार अन्तरसदनात्मक विभिन्न अतिरिक्त क्रियाकलापहरुको सञ्चालन गरी विजेताहरुलाई त्यसै समय पुरस्कार प्रदान गरी सो को अभिलेख राखि उक्त महिनाको अन्त्यमा सबैभन्दा बढी अंक प्राप्त गर्ने उत्कृष्ट ३ सदनहरुलाई पुरस्कृत गरिदैँ आएको छ ।


जुविल्यान्ट बाल क्लब

जुविल्याण्ट बाल क्लबका सदस्य विद्यार्थीहरु


विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको नेतृत्व क्षमता, वैयक्तिक विकास तथा विभिन्न शैक्षिक, सामाजिक क्रियाकलापमा सक्रिय सहभागिता बढाउने उद्देश्यले वि.सं. २०७२ देखि विद्यालयमा जुविल्यान्ट बाल क्लबको नाममा एउटा बालक्लब रहेको छ । यस बालक्लबमा १५ जना विद्यार्थीहरु तथा २ जना प्रमुख संरक्षक सहित विभिन्न पदाधिकारीको रुपमा आबद्ध तथा क्रियाशिल रहेका छन् ।

किशोरी सशक्तिकरण समूह

किशाेरी सशक्तिकरण समूहका क्रियाशिल सदस्य छात्राहरु

विद्यालयमा अध्ययनरत विशेष गरी छात्राहरुको प्रत्यक्ष सहभागिता तथा उनीहरुको शैक्षिक, सामाजिक, साँस्कृतिक, शारीरिक तथा मनोवैज्ञानिक पक्षहरुको सुदृढिकरण एवम् सबलीकरण तथा समाजमा विद्यमान बालविवाह (उमेर नपुगी गरिने विवाह) को रोकथाम तथा सचेतिकरण गर्ने उद्देश्यले विद्यालयमा वि.सं. २०७९ बाट किशोरी सशक्तिकरण समूह गठन तथा हाल क्रियाशिल रहेको छ ।

पुस्तकालय

विद्यालयमा मनराम पुस्तकालयको नाममा वि.सं. २०७२ बाट लायन्स मनराम प्रतिष्ठान २००५ नेपालकाे साैजन्यमा विभिन्न विषयबस्तुसँग सम्बन्धित ज्ञानबद्र्धक पुस्तकहरु सहितको पुस्तकालयको व्यवस्था रहेको छ । उक्त पुस्तकालयको स्थापना, सञ्चालन एवम् व्यवस्थापन संखुवासभा खाँदबारी हाल अमेरिका निवासी मनमाया श्रेष्ठ संरक्षकत्व रहेको मनराम फाउन्डेसनद्वारा स्थापित श्री मनराम पुस्तकालय कोष (रु. १,००,०००/- मुद्धति) बाट गरिदैँ आएको छ ।


विज्ञान प्रयोगशाला

विद्यालयमा विज्ञान विषयसँग सम्बन्धित प्रयोगात्मक क्रियाकलापहरुको सञ्चालन गर्नको लागि विभिन्न विज्ञान प्रयोगशालाका सामाग्री सहितको विज्ञान प्रयोगशालाको व्यवस्था रहेको छ । जसको स्थापनार्थ श्री गोर्खा वेल् फेयरबाट सम्पूर्ण सहयोग प्राप्त भई वि.सं. २०६४ बाट सञ्चालन हुँदै आएको छ ।

विज्ञान प्रयोगशालाका सामाग्रीहरु

सुक्ष्मदर्शक यन्त्र

सि.सि. क्यामेरा

सिसिटिभी अवलोकन माेनिटर

विद्यालयको परिसर तथा कक्षाकोठाको अवलोकन तथा सुरक्षा हेतु विद्यालय परिसर तथा प्रत्येक कक्षाकोठामा सि.सि. क्यामेराको जडान गरिएको छ । मादी नगरपालिकाबाट प्राप्त सहयोगबाट सि.सि क्यामेराको जडान कार्य सम्पन्न गरिएको थियो ।

कम्प्यूटर ल्याब


विद्यार्थीलाई आधुनिक कम्प्यूटर प्रविधिसँग सुपरिचित गराउने उद्देश्य राखि पर्याप्त कम्प्यूटर तथा स्मार्ट बोर्डसहितको आधुनिक कम्प्युटर ल्याबको व्यवस्था रहेको छ । विद्यालयमा विभिन्न कार्य सम्पादन गर्न इन्टरनेटको समेत व्यवस्था रहेको छ । आगामी दिनमा ई–लाइब्रेरीको अवधारणालाई साकार बनाउने लक्ष्यसमेत विद्यालयले राखेको छ ।
स्मार्ट बाेर्ड


अक्षयकाेष तथा छात्रवृत्तिहरु

विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको शैक्षिक उन्नयनको लागि रु. ९ लाख भन्दा बढीका विभिन्न दाताहरबाट स्थापित अक्षयकोषहरु रहेका छन् । जसबाट प्राप्त ब्याजबराबरको रकमबाट विभिन्न शिर्षकमा बर्षेनी विभिन्न विद्यार्थीहरुलाई छात्रवृत्ति तथा उत्कृष्ट कार्यसम्पादन गर्ने शिक्षकलाई प्रोत्साहन पुरस्कार प्रदान गरिदैँ आएको छ । अक्षयकोषहरु सम्बन्धि विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुहोला ।

चमेनागृह

विद्यालय परिसरमा विद्यार्थी तथा शिक्षक कर्मचारीको निमित्त दैनिक खाजा व्यवस्थापनको लागि एउटा चमेनागृह रहेको छ । जहाँबाट दैनिक दिवाखाजा विद्यार्थीलाई उपलब्ध गराउने तथा अन्य खाद्यान्न व्यवस्थापनको कार्य हुने गरेको छ ।

स्वच्छ सफा खानेपानी

विद्यालयमा स्वच्छ तथा सफा पिउने पानीको व्यवस्थापन रहेको छ । उक्त खानेपानीको व्यवस्थापनको लागि १५०० लिटरको पानी ट्याङ्कीको व्यवस्था गरिएको छ ।

सेनिटरी प्याड डिस्पोजल मेसिन

विद्यालयको छात्रा तथा महिला शिक्षक कर्मचारीको लागि पर्याप्त सेनिटरी प्याडको निःशुल्क व्यवस्था गरिएको छ । यसको साथै, छात्रा शौचालयमा सेनिटरी प्याडको प्रयोग पश्चात सुरक्षित तवरले डिस्पोज (नष्ट) गर्ने मेसिन जडान एवम् सञ्चालन गरिएको छ ।

वेवसाइट उद्घाटन तथा सञ्चालन

आधुनिक प्रविधिको युगानुकुल आवश्यकतालाई मध्यनजर गर्दै मिति २०८० असोज २५ गते बिहिबारबाट औपचारिक कार्यक्रमका बिच WWW.SCHOOLSARASWATI.EDU.NP ठेगाना भएको वेबसाइटको उद्घाटन एवं सञ्चालन भएको छ । विद्यालयका पुराना ऐतिहासिक अभिलेखहरुको डिजिटलाइजेसन तथा नयाँ अभिलेखहरु नियमित रुपमा वेबसाइटको माध्यमबाट प्रकाशन एवं प्रसारणको मुख्य उद्देश्य राखि वेबसाइट सञ्चालनमा आएको हाे ।